सुर्खेत– कर्णाली प्रदेश स्थापना आन्दोलनका क्रममा ज्यान गुमाएका ४ जनाको तस्वीर प्रदेशका मन्त्रालय र मातहतका कार्यालयमा अनिवार्य रुपमा राखिने भएको छ । भदौ २ गते बसेको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारले जनाएको छ।
प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका गोपालसिंह रजवार, टीकाराम गौतम, यामबहादुर बिसी र जुम्लामा हरिबहादुर कुँवरले ज्यान गुमाएका थिए। मन्त्रिपरिषद्ले उनीहरुको परिवारका १/१ जनालाई रोजगार उपलब्ध गराउनेसमेत निर्णय गरेको छ।
प्रदेशले आफ्नो नवौं स्थापना दिवसको अवसरमा उक्त निर्णय गरेको हो । प्रदेशले मंगलबार दिवस मनाइएको छ। प्रदेश राजधानीस्थित कभर्ड हल एक कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो।
जसअनुसार बुधवार बिहान वीरेन्द्रनगरको मंगलगढी चोकबाट दिवस झल्किने ब्यानर प्लेकार्ड, ब्यान्ड बाजासहित प्रभातफेरि गरिएको थियो। त्यसपछि प्रदेश रंगशालास्थित कभर्ड हलमा औपचारिक कार्यक्रम भएको थियो।
कार्यक्रममा प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङ, सबै मन्त्रीहरु, सांसद, शहीद परिवार, कर्मचारी विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, विद्यार्थी लगायतको सहभागी थिए।
स्थापना दिवसका असवरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख यज्ञराज जोशीले संघर्ष र बलिदानबाट प्राप्त कर्णाली प्रदेशको समृद्धि र विकासका विषयमा समीक्षा गर्नुपर्ने बेला आएको बताए।
त्यस्तै मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश प्राप्तिको आन्दोलनमा ज्यानको आहुति दिएका शहीद परिवारलाई चालु आर्थिक वर्षदेखि रोजगारी दिने निर्णय गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।