दाङ- लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत लिँदैछन्। आचार्यले आज दिउँसो १ बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।
नेकपा एमालेका संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। सङ्घमा सत्ता समीकरण फेरिएसँगै उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार आचार्यले विश्वासको मत लिन थालेका हुन्।
८७ प्रदेश सभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्छ। आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थन रहेको छ।
आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेले ह्विप जारी गरेका छन्। मुख्यमन्त्री आचार्यलाई प्रदेश सभामा सहभागी ११ वटा राजनीतिक दलमध्ये जसपाका २, जसपा नेपालका एक जना र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले पनि समर्थन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।