काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाउनुअघि प्रदेशस्तरीय संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ। बिहीबार सकिएको स्थायी समिति बैठकले सबै प्रदेशमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जवस/मोर्चाको संयुक्त बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले बागमती प्रदेशमा भदौ ५ र ६ गते, विशेष र सम्पर्क समन्वय प्रदेशमा भदौ ७ र ८ गते बैठक बस्ने जानकारी दिए।
यस्तै गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते बैठक बस्नेछ। यसैगरी केन्द्रीय आयोगमा १८ गते, मधेस प्रदेशमा २२ र २३ गते, कोशी प्रदेशमा २४ र २५ गते, सल्लाहकार कम्युनिस्ट मञ्चमा २९ र ३० गते, जवस/मोर्चाको २७ र २८ गते बैठक बस्नेछ।
यी प्रदेशमा बैठक सकिएपछि भारत, मध्यपूर्व प्रदेश र युरोप अमेरिका प्रदेशमा पनि बैठक बस्ने प्रवक्ता सापकोटाले बताए। छलफल र सुझावका आधारमा असोजको पहिलो साता केन्द्रीय समितिको बैठक बोलाउने जानकारी उनले दिए।
‘स्थायी समिति बैठकले सातै प्रदेशमा संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ। सबै प्रदेशमा अध्यक्षदेखि उपमहासचिवसम्म नेताहरू जानुहुन्छ । त्यहाँ स्थायी समितिले गरेको निर्णय राख्नेछौं। त्यसमा आएका सुझाव र सल्लाहको आधारमा राजनीतिक दस्ताबेज तयार गरी असोजको पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने छौं’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।