बेंसीशहर, लमजुङ – ऐतिहासिक राइनासकोटबाट प्याराग्लाइडिङको परीक्षण शुरु गरिएको छ।
एक नेपालीसहित पाँच विदेशी पर्यटकले आज राइनासकोटबाट सफल परीक्षण गरेका हुन् । प्याराग्लाइडिङ गरेका छमध्ये तीन जनाले चेपे नदी किनारमा तथा तीन जनाले लमजुङको सुन्दर बजार र गोरखाको लिगलिगका भूभाग घुमेर राइनासकोटमै अवतरण गरेका थिए।
राइनासकोटमा प्याराग्लाइडिङको सम्भावना राम्रो पाइएको पाइलट लाक्पा शेर्पाले बताए। मनोरम दृष्य र सुरक्षित अवतरणको अवस्था निकै राम्रो पाइएको शेर्पाको भनाइ छ। पर्यटन व्यवसायी कृष्णराज ओलियाले प्याराग्लाइडिङलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए।
पछिल्लो समय पोखराबाट प्याराग्लाइड विस्थापन हुने हल्लासँगै नयाँ सम्भाव्यता खोजी भइरहेका बेला राइनासकोटको सम्भाव्यताले व्यावसायिक प्याराग्लाइड गर्नेहरु उत्साहित भएका छन् । आज सफल परीक्षण गरेको टोलीले सोही ठाउँबाट तीन दिनसम्म प्याराग्लाइडिङ गर्ने जनाइएको छ । टोलीमा एक नेपालीसहित पाँच फ्रान्सेली छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।