काठमाडौँ- संघीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छ ।
संसद् सचिवालयका अनुसार आज राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्यका निर्देशक सिद्धान्त र संसदीय सुनुवाइ समितिको बैठक बस्ने कार्यक्रम छ ।
बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेस तथा प्रतिवेदन माथि छलफल हुने कार्यक्रम छ ।
त्यस्तै दिउँसो ३ बजे नै बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) बैठकमा समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुनेछ । दिउँसो ३ बजे बस्ने संसदीय सुनुवाइ समितिमा पनि समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।