काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल दुई दलीय शासन व्यवस्था स्वीकार्य नहुने बताएका छन्। प्रतिनिधिसभामा टीआरसी विधेयकमाथिको छलफलका क्रममा उनले कांग्रेस-एमालेबीच भएको सात बुँदे सहमतिको नियतमा प्रश्न उठाउँदै यस्तो बताएका हुन्।
उनले भने, ‘प्रधानमन्त्री यहाँ भइदिएको भए कस्तो राम्रो हुन्थ्यो। उहाँले यहाँ संविधान संशोधनको कुरा गर्नुभयो। अनि मध्यरातमा हस्ताक्षर गर्ने हो? दुई दलीय शासन ल्याउन खोजेको हो ? दुई दलीय शासन व्यवस्था नेपालमा आउन सक्दैन। आउन हामी दिँदैनौं। बहुदलीय व्यवस्था हामीले ल्याएका हौं। यही रहन्छ। कमीकमजोरीलाई सुधारेर जान सकिन्छ।’
अध्यक्ष नेपालले मध्यरातमा सहमति गर्नुबाटै नियत बुझिएको जिकिर गरे।
उनले थपे, ‘हाम्रो शेरबहादुर माननीय पनि साह्रै सोझो हुनुहुन्छ। उहाँ बुझ्दै बुझ्नुहुन्न जस्तो पनि लाग्छ, फेरि बुझ्न त सिपालु हुनुहुन्छ। ख्याल गर्नुस्, दुई दलीय शासनले देशलाई नोक्सान पुर्याउँछ। दुई दलीय नाममा एक दलीय शासनमा जाने कुरा जनतालाई स्वीकार्य छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।