काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शान्ति प्रक्रिया टुंग्याउन पूर्वराजाको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
टीआरसी विधेयकमाथि संसद्मा भएको छलफलमा भाग लिँदै बुधबार लिङ्देनले यस्तो बताएका हुन्। शान्ति प्रक्रियामा योगदान दिएबापत पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्नेको उनको भनाइ छ।
‘यो शान्ति प्रक्रियालाई टुंगोको पुर्याउन राजाको योगदान छैन ? आजको दिनमा राजालाई सम्झिनुपर्ने होइन ? दलहरुले राजालाई शान्ति प्रक्रियामा योगदान पुर्याएबापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो।’ उनले भने।
उनले त्यसअघि भने, ‘तपाईहरुले आज राजालाई सम्झिनुपर्थ्यो। जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न।’
दलहरुले बहुमत र मौका पाउनेबित्तिकै राजालाई बिर्सिएको उनको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।