काठमाडौँ – राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले समानुपातिक तथा समावेशी सिद्धान्तको मर्म र भावना विपरीत भएका अभ्यासमा सुधारको खाँचो आँैल्याएका छन्।
नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयकमाथि सुझावसहितको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सभापति खतिवडाले समानुपातिक निर्वाचन प्रणाली नेताको विवेकमा नभइ नीति र पद्धतिमा चल्ने प्रणाली स्थापित गर्नु आजको आवश्यकता भएको बताए।
“समानुपातिक र समावेशीसम्बन्धी विषय अब नेपालबाट टाढा जान सक्दैन। जान पनि हुन्न। राजनीतिलाई स्थिरता दिएर देशलाई बलियो बनाउनेतर्फ लाग्नुपर्छ”, सभापति खतिवडाले भने–“राज्यको मूलधारबाट पछि परेकालाई समेट्नुपर्ने सिटमा नाता र दातालाई ल्याउने काम बन्द गरिनुपर्छ।”
संविधानले परिकल्पना गरेअनुरुप महिला, पिछडिएका वर्ग र समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिँदै सभापति खतिवडाले पहुँच र प्रभावका आधारमा एउटै व्यक्तिलाई धेरै पटक समानुपातिक प्रणालीमा ल्याइँदा त्यही समुदायको अर्काे व्यक्ति मारमा पर्ने पक्षलाई हेक्का राख्न जरुरी छ भने।
निर्वाचनसम्बन्धी प्रस्तावित विधेयक समितिमा आएपछि सरोकारवालासँग गहन र व्यापक छलफल हुने उल्लेख गर्दै सभापति खतिवडाले समानुपातिक प्रणाली वास्तमै राज्यको पहुँच र मूलधारबाट छुटेकालाई समेटने प्रणाली भएको धारणा राखे। नेपालमा हाल अभ्यासमा रहेको निर्वाचन प्रणाली बारेमा विभिन्न पक्षबाट उठाइएका आवाजलाई राजनीतिक दल, जनप्रतिनिधि र सरकारको ध्यानाकर्षण भइरहेको उनको भनाइ थियो।
त्यस अवसरमा मञ्चलगायत २३ सङ्घ संस्थाका प्रतिनिधिले नेपालमा निर्वाचन सुधार पहलका लागि ‘जसको जति सङ्ख्या भार उसको त्यति उम्मेदवार’ मूल नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्दैआएको जानकारी दिए। उनिहरुले महिलाभित्रको अन्तर–सामुदायिक समावेशीतालाई सम्बोधन गर्ने, दलित महिलालाई अल्पसङ्ख्यक महिलाद्वारा प्रतिस्थापन गर्ने प्रस्ताव अस्विकार्य हुने, निर्वाचन क्षेत्र असुरक्षित र संरक्षित गर्ने, समानुपातिक सूचीमा सुधार ल्याउनुपर्नेलगायतका विषयमा सभापति खतिवडाको ध्यानाकर्षण गराएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।