काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद् संशोधन गरेर एकल बहुमतको सरकार बन्ने अवस्था सिर्जना गर्न सकिने बताएका छन्। उनले ४० प्रतिशत मत ल्याउने पार्टीको एकल सरकार बन्ने गरी संविधान संशोधन गर्न सकिने प्रतिनिधि सभामा बताएका हुन्।
उनले भने, ‘४० प्रतिशत हाराहारी मत ल्याउन पार्टीको एकल बहुमतको सरकार बन्नेगरी संविधान संशोधन गर्न पनि सक्छौं।’ यस्तो भन्दै गर्दा साना दलले विरोध गर्ने बताए। त्यसको जवाफमा उनले प्रश्न सोधे, ‘ठूलो दल र सानो दलको परिभाषा के हो ? २०६५ सालमा माओवादी ठूलो दल बनेको होइन? राष्ट्रिय स्वतन्त्र पार्टी २०८४ मा ठूलो दल बनेर बढार्ने भनिरहेको छैन?’
उनले वर्तमान जम्बो संसद्को आकार घटाएर दलित, जनजाति, अल्पसंख्यक आदिको अधिकार बढाउन सकिने बताए। उनले थपे, ‘संविधान संशोधन गर्नुको अर्थ पछाडि जाने भनेको होइन। अझ समावेशी बनाउने हो। संविधान स्पष्ट नलेखिँदा मन्त्रीमण्डल बनाउँदा हामी दलित छुटाउँछौं। दुई पार्टी मिलेर राष्ट्रपति र उपराष्ट्रपति बनाउँदा पुरुष मात्रै बनाउँछौं। यसमा प्रस्ट हुन सक्छौं।’
प्रदेश यसैगरी चलाउन नहुने पक्षमा जोड दिए। उनले यो बहशबाट भाग्न नहुने उल्लेख गरे। ‘सत्ता पक्षले यो बहशबाट बरालिने र भाग्ने होइन, अन्य दल र नागरिकसँग संवाद गर्ने हो,’ उनले भने। राजनीतिक स्थायित्वका लागि पनि संविधान संशोधन गर्न सकिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।