काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले तारा गाउँ विकास समिति र तारा रिजेन्सी होटल्सबीचको विषय जटिल रहेको बताएका छन्।
आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा तारा गाउँ विकास समिति र तारा रिजेन्सी होटल्सबीच उत्पन्न विवाद समस्या समाधानका लागि बसेको समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।
यस्तै उनले केही माफियाहरूले राज्यको सार्वजनिक सम्पत्तिमाथि दोहन गरेको र त्यसको अन्त्य गर्नै पर्नेमा जोड दिएका छन्। २०३४ सालमा ग्रामीण क्षेत्रको पर्यटन र संस्कृति विकासका लागि स्थापना भएको तारा गाउँ विकास समितिको सार्वजनिक सरकारी जग्गामा स्थापनाकालदेखि नै अनियमितता भएको भन्दै त्यसबारे खबरदारी गरिनुपर्ने बताए।
‘तारा गाउँ विकास समित र तारा रिलेन्सी होटल्सबीचको विषय जटिल छ,’ मन्त्री पाण्डेले भने ‘२०५० सालकै सदनको समितिले अध्ययन गरेको छ।राज्यलाई क्षति गरेको छ।’ उनले यसबारेमा संसदीय समिति देखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको भए पनि समिति र अख्तियारबीच तारदम्यता मिल्न नसकेको प्रष्ट पारे।
मन्त्री पाण्डेले जग्गा भाडाको सन्दर्भमा प्रचलित मूल्य अनुसार नभएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराए। समितिका सांसदहरूले सरकारी वा सार्वजनिक जग्गा भाडामा दिँदा कानुनी प्रवन्ध हुनु पर्नेमा जोड दिएका छन्। तारा गाउँ विकास समिति लगायत अतिक्रमण भएका जग्गाहरू अनिवार्य रूपमा राज्यको नाममा फिर्ता ल्याउन सरकार गम्भीर बन्नु पर्नेमा जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।