काठमाडौं– नेकपा माओवादी केन्द्रले कार्यकारी राष्ट्रपतिको अजेण्डालाई अघि सार्ने भएको छ। जारी स्थायी कमिटीको बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतिको विकल्प नभएको संस्थागत धारणा भएको बताए।
उनले भने, ‘कार्यकारी राष्ट्रपतिमा जानुपर्छ भन्नेमा अडिग छौं। हामीले हिजो नोट अफ डिसेन्ट पनि लेखेका थियौं। अहिले हामीले संस्थागत रुपमा पनि उठाएका छौं। यहाँ अस्थिरताको कुरा गरिँदैछ। कांग्रेस र एमालेले स्थायित्व नै चाहेको हो भने पाँच वर्षसम्म महाअभियोगको कुरा त हुन्छ, तर राष्ट्रपति फेरिँदैन। त्यसले मात्रै स्थायित्व दिनसक्छ।’
प्रवक्ता सापकोटाले अध्यक्ष प्रचण्डले पनि यही कुरा राखेको भन्दै यही आधिकारिक र पार्टीको संस्थागत निर्णय भएको बताए। उनले प्रदेशमा मुख्यमन्त्री पनि प्रत्यक्ष कार्यकारी हुने विषयमा भने पार्टीमा छलफल नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।