काठमाडौं– काठमाडौं महानगरपालिकाको नजिकको सडक भ्वाङ परेको छ। सडक भासिँदा रातिदेखि आवागमन पनि रोकिएको छ।
महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो।
दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो। यो सडक एकतर्फी छ। प्रहरीले घेरा हालेर राखेका छन् भने हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको छ।
उक्त भ्वाङमा परेर एक प्रहरी इन्स्पेक्टर घाइते भएका छन् ।
स्थानीयले बिहीबार राति सडक भासिएको खबर गरेपछि दरबारमार्गमा कार्यरत् इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी सडकको निरीक्षणमा पुगेका थिए । सो क्रममा उनी भ्वाङमा फसेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
बूढाथोकीको निधार र हातमा चोट लागेको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। निधारमा उनलाई टाँकासमेत लगाइएको छ।
भ्वाङ परेपछि रातिदेखि नै यहाँ सवारी आवागमन प्रभावित भएको छ । ट्राफिकले अहिले यो सडक खण्ड बन्द गरेको छ। दरबारमार्गबाट काठमाडौं प्लाजतर्फ जान मिल्ने गरी यो बाटो एकतर्फी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।