काठमाडौं– केही महिनाअघि मात्र झुलाघाटदेखि चिवा भन्ज्याङसम्म पदयात्रा अभियान सञ्चालन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मध्य पहाडी राजमार्गका कतिपय एलाइनमेन्ट नमिलेको भन्दै सच्याउन निर्देशन दिएका छन्।
भौतिक पूर्वाधार मन्त्रीसहित मन्त्रालयका अधिकारीहरूलाई राखेर प्रधानमन्त्रीले आफ्नो स्थलगत अनुभवसहित मध्य पहाडी राजमार्ग सोझ्याउन र सय वर्षपछिको अवस्था अनुमान गरेर मानव वस्तितर्फ लैजान निर्देशन दिएका हुन्।
हलै सडक विभागको वार्षिक समीक्षा गोष्ठीमा ओलीले मध्य पहाडी पुष्पलाल राजमार्ग अन्तर्गत रामेछापमा अनावश्यक रूपमा बाटो घुमाइएकोले त्यसलाई सोझै निकाल्नु पर्ने बताए। उनले त्यसलाई दोरम्बाबाट मन्थली हुँदै सघन वस्तिबाट लैजान निर्देशन दिए।
ओलीले रामेछापको वारी बीपी मार्ग र पारी पुष्पलाल मार्ग गरेर दुईवटा मार्ग सँगसँगै खनिएको भन्दै त्यो काम आवश्यकताको आधारमा नभएको बताए।
ओलीले काभ्रेबाट चौँरीखोला झरेको सडक नेपालथोकको वारी घुमाएर नभई सोझै दोरम्बाबाट गाल्पा निकालेर मन्थली झार्न निर्देशन दिएको बागमती प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका एमाले बागमती अध्यक्ष कैलाश ढुंगेलले बताए।
यसअघि ढुंगेल नेतृत्वको टोलीले भौतिक पूर्वाधार मन्त्रालयमा डेलिगेशन गएर राजमार्गको एलाइनमेन्ट परिवर्तन गर्न सुझाव दिएको थियो।
त्यसलगत्तै प्रधानमन्त्री ओलीले आफूले यसअघि मध्य पहाडी यात्राका क्रममा गलत ठाउँमा राजमार्ग लगेको देखेर बाटो परिवर्तन गरी दोलालघाटबाट दोलखा हुँदै रामेछापको यात्रा तय गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।