काठमाडौं– धरानको खानेपानी शुल्क र महसुल विवादको विषयमा उच्च अदालत विराटनगरले १५ दिनभित्र अदालत उपस्थित हुन विपक्षीको नाममा अल्पकालीन आदेश दिएको छ।
धरान उपमहानगरपालिकाका मेयर हर्क राईले नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेल समेतलाई विपक्षी बनाई उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए।
रिटमाथि अल्पकालीन आदेश दिँदै उच्च अदालत विराटनगरका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले यसमा के कसो भएको हो, निवेदन माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो, जारी हुनु नपर्ने भए सोको आधार कारण र भए प्रमाणसहित बाटोको म्याद बाहेक १५ दिनभित्र आफैँ वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो।
निवेदक मेयर राईले माग गरेको अन्तरिम आदेश सम्बन्धमा दुवै पक्षको छलफलबाट अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने सम्बन्धमा निष्कर्षमा पुग्न मनासिव हुने भन्दै अन्तरिम आदेश को लागि छलफल गर्न दुवै पक्षलाई साउन २८ गतेलाई बोलाइएको छ।
छलफलको लागि तोकिएको मितिसम्म धरान खानेपानी व्यवस्थापन बोर्ड कार्यालयमा तालाबन्दी नगर्नु नगराउन पनि अदालतको अल्पकालीन आदेशमा भनिएको छ।
कार्यालयमा लगाएको ताला तत्काल खोली खानेपानीको नियमित सेवा सञ्चालन गर्न गराउनु, खानेपानी व्यवस्थापन वितरण एवम् सञ्चालनमा कुनै पनि अवरोधन नगर्नु नगराउन उच्च अदालतले जारी गरेको अल्पकालीन आदेशमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।