काठमाडौँ- गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। बुधबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुस्त भएको बताए।
‘राष्ट्रिय परिचयपत्र बनाउन १ करोड ५१ लाखको विवरण संकलन भइसकेको छ। कार्ड छपाई ४३ लाख भइसकेको छ। ७६ लाख कार्ड छाप्न बाँकी छ,’ उनले भने, ‘वितरणको सङ्ख्या एक दम कम भयो। अरू सबै कुरा ठिक छ। ८ लाख ४७ हजार मात्र हामीले वितरण गरौँ। वितरणको पाटोलाई तीव्रता दिनुहोला।’
गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र सरकारको सुशासन सम्बन्धित रहेको पनि बताए। ज्येष्ठ नागरिकलाई घर–घर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने गरी अगाडि बढ्न गृहमन्त्री लेखकले निर्देशन दिए।
‘सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने कुरा व्यवहारिक थिएन। सामाजिक सुरक्षा भत्ताका लागि त्यो अनिवार्य नगर्ने निर्णय उचित हो भन्ने मलाई लाग्छ। तर, ज्येष्ठ नागरिक बाहेकका हकमा अनिवार्य गरौँ। ज्येष्ठ नागरिकलाई घर–घर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने नीति बनाऔँ,’ उनले भने।
राष्ट्रिय परिचयपत्र बनाउने विषयलाई तीव्रता दिन पालिकाहरूले वित्तीय समानीकरण अनुदानसँग जोड्न सकिने गृहमन्त्री लेखकको भनाइ थियो।
राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई अनुदानसँग जोड्ने गरी निर्णय गरेर ल्याउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा महानिर्देशक युवराज कटेललाई गृहमन्त्री लेखकले निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।