काठमाडौँ- सरकारले २२ जना सचिवको एकै पटक सरुवा गरेको छ भने १८ देशका लागि राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव सरुवा र राजदूत सिफारिस गर्ने निर्णय गरेको हो।
राजस्व सचिव रामप्रसाद घिमिरेलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ। अर्थ सचिवको रुपमा कार्यरत मधु मरासिनीलाई उपराष्ट्रपतिको कार्यलयमा सरुवा गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरेलाई अर्थ मन्त्रालयको राजश्व सचिवमा सरुवा गरिएको छ। यता श्रम मन्त्रालयमा कार्यरत सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।
सरकारले भारतका लागि नेपाली राजदूतमा डा शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे राजदूतमा सिफारिस गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।