काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा असीमित रुपमा बाघको संरक्षण गर्न नसकिने बताएका छन्। विश्व बाघ दिवस- २०२४ को अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले नेपालको जंगल र क्षेत्रफलको हिसाबले धेरै बाघको वृद्धि हुनेगरी संरक्षण गर्न नसकिने स्पष्ट पारे। उनले सरकारले अन्तर्राष्ट्रिय फोरममा २०१० मा नै बाघको सङ्ख्या दोब्बर बनाएकाले अब दुई पटक दोब्बर गर्दा मानिसहरूले देश छाड्नुपर्ने अवस्था आउने धारणा राखे। उनले नेपालले बाहिरी देशलाई बाघ बाँड्ने सक्ने बताए।
प्रधानमन्त्री ओलीले नेपाल भन्दा ३८ गुणा अमेजन रेनफारेस्ट जंगल ठूलो रहेकाले बाघका लागि उपयुक्त ठाउँ भएको बताए। उनले बाघको संरक्षणको लागि वन्यजन्तु र मानिसबिचको द्वन्द्व हराउने गरी प्राप्त क्षेत्र आवश्यक हुने बताए। उनले बाघको अनुकुल ठाउँ र प्रजननका लागि उपयुक्त वातावरण हुनुपर्ने भएकाले असिमित हुन नहुने बताए। उनले नेपालले बाघ संरक्षण गर्न धेरै मात्रामा हौसिन नहुने बताए।
प्रधानमन्त्री ओलीले भारतसँग पर्याप्त स्थान र जंगल भएकाले नेपालले भन्दा ३० गुणाभन्दा बढी बाघ पाल्न सक्ने बताए। उनले नेपालमा ४६ प्रतिशत जङ्गल टुक्रा–टुक्रा भएकाले बाघको लागि पर्याप्त जंगल नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।