काठमाडौं– प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कुसुम थापामगरको एकल उम्मेदवारी दर्ता परेको छ।
कांग्रेस सांसद वीरबहादुर बलायर प्रस्तावक र नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकाल समर्थनमा थापामगरको एकल उम्मेदवारी दर्ता भएको हो।
दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएकोमा अहिलेसम्म थापाको मात्रै एकल उम्मेदवारी दर्ता भएको संघीय संसद सचिवालयले जनाएको छ।
एकल उम्मेदवारी परेकाले सम्भवत: सर्वसम्मत सभापतिमा चयन हुनेछिन्। यद्यपि निर्वाचन कार्यतालिकाअनुसार साढे ४ बजेका लागि सम्बन्धित समितिको बैठक बोलाइएको र उक्त बैठकले निर्णय गर्नेछ।
यसअघि समितिकी सभापति डा आरजु देउवा परराष्ट्रमन्त्री बनेपछि पद रिक्त रहेको थियो। उक्त समितिको सभापतिमा अर्को उम्मेदवारी नपरेमा उनी सर्वसम्मत सभापति चयन हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।