काठमाडौं– संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने निश्चित भएपछि निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका छन्।
उनले सोमबार बिहान सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएका हुन्। उनले आफ्नो बारेमा दुष्प्रचार भएको र काम गर्ने इच्छा र हौसला नभएकाले नाम फिर्ता लिएको निवेदन दिएका हुन्।
यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठक रोकेर सत्तारुढ नेपाली कांग्रेस र एमालेका सांसदहरु छलफलमा जुटेका थिए। उक्त छलफलमा नेताहरु विवादास्पद प्रधानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्न नसक्ने निष्कर्षमा पुगेका थिए।
एमाले र कांग्रेसले उनलाई अनुमोदन नगर्ने निष्कर्ष निकालेका थिए। १५ सदस्यीय समितिमा प्रधानलाई अस्वीकृत गर्न दुई तिहाई बहुमत चाहिन्छ। सत्तारुढ कांग्रेस र एमाले मिल्नासाथ ९ जना हुन्छ भने राप्रपाले साथ दिएमा दुई तिहाइ पुग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।