काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारमाथि लागेको आरोप व्यवहारबाट खण्डन गर्नुपर्ने बताएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।
उनले वर्तमान प्रधानमन्त्री केपी ओली जोडिएको गिरीबन्धु चिया बगान र नक्कली भुटानी शरणार्थीबारे तत्काल छानबिन थाल्नुपर्ने माग गरे। उनले भने, ‘प्रधानमन्त्री र सिंगो मन्त्रिपरिषद्लाई आग्रह गर्दछु। नक्कली भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु चिया बगानबारे सरकारले व्यवहारबाटै जवाफ दिनुपर्छ। अविलम्ब छानबिन सुरु गर्नुपर्दछ। म माग गर्दछु। गिरीबन्धुको ७० विगाहा जग्गा कांग्रेसले बेचेर खायो भन्ने प्रधानमन्त्री ओलीले को हो त्यो कांग्रेस देखाउनुपर्छ। नक्कली भुटानी शरणार्थीबारे पनि यथार्थ सार्वजनिक गराउनुपर्छ।’
भ्रष्टाचारविरुद्धको अभियानमा गृहमन्त्रीले पूर्वाग्रहमुक्त अभियान चलाउनुपर्ने, अनुग्रह र स्टण्टमुक्त अभियान चलाउन उनले सुझाव पनि दिएका छन्। अर्को एक प्रशंगमा उनले गठबन्धनले संघदेखि प्रदेशसम्म सरकार बनाउँदा विरोधाभाष हुने प्रकृतिका मन्त्रीहरुलाई पनि जिम्मेवारी दिएको र यो गलत भएको बताए।
विपक्षी कित्ताबाट उठेका प्रश्नलाई बिरोधको रुपमा मात्रै लिन नहुने उनले बताए। अहिले पनि विपक्षी दलहरुले उठाएका प्रश्नलाई सरकारले हेक्कामा राखेर समाधानको बाटोमा जानुपर्ने धारणा राखे।
विश्वासमा लिन, सुन्न र साथमा लिएर हिँड्न सरकारले विपक्षी दलहरुलाई पनि सम्बोधन गर्नुपर्ने उनको धारणा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।