काठमाडौँ- गृहमन्त्री रमेश लेखकले यस वर्षको मनसुनपछिको विपद्बाट भएको क्षतिबारे सदनलाई जानकारी गराएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा मन्त्री लेखकले गत जेठ २८ देखि हालसम्म १ हजार ५९२ विपद्का घटना भएको जानकारी दिए।
त्यस क्रममा १३० जनाको मृत्यु र १४४ जना घाइते भएको जानकारी गृहमन्त्रीले गराए। ४८ जना बेपत्ता भएको र ५९४ पशुचौपाया नोक्सानी भएको उनले बताए।
यसवर्षको बाढी पहिरोबाट २३१ घर र ८४ गोठमा क्षति पुगेको भन्दै उनले ४३ वटा पुल र २ सरकारी भवन भत्किएको बताए। त्यस्तै ४ हजार ४ परिवार विस्थापित हुने अवस्था आएको र जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए।
प्राकृतिक विपदबाट देशका ७७ वटै जिल्ला प्रभावित भएको र विपद्पछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ र सशस्त्र प्रहरीका ३ हजार ९५६ जना खटिएको उनले बताए। ती सुरक्षाकर्मीले ९८९ जनालाई उद्धार गरेको तथा उद्धारमा कतिपय स्थानमा नेपाली सेना समेत खटिएको उनले बताए।
गृहमन्त्रीले प्रभावितहरूलाई आवश्यक राहत सामग्रीको प्रबन्ध गरेको तथा मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा रहेको जानकारी दिए। उनले ४८ जना बेपत्ता भएकाहरूको पत्ता नलागेका परिवारलाई मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय भएको समेत जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।