काठमाडौं– नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष दाबी पेस भएको छ।
नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने गरी भएको सहमति बमोजिम लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गरिएको हो। एमाले-कांग्रेसका ५६ जनाको हस्ताक्षरसहित दाबी पेस गरिएको हो।
मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा बुझाएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आज सोमबार साँझ ६ बजे सम्मको समय सीमा दिएर आह्वान गरेका थिए।
प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा एमालेसँग १८ जना प्रत्यक्ष र ११ जना समानुपातिक गरी २९ जना सांसद छन् भने नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना सांसद छन्।
लुम्बिनी प्रदेशमा १० वटा दल र १ जना स्वतन्त्र सांसदको प्रतिनिधित्व छ। सरकार गठन गर्न ४४ जना सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस र एमाले दुई दल मिल्दा मात्रै पनि लुम्बिनी प्रदेश सरकार बनाउन पर्याप्त बहुमत पुग्छ तर नयाँ सत्ता समीकरणमा नागरिक उन्मुक्ति पार्टीका ४ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र जनता समाजवादी पार्टीका ३ जना गरी थप १० जना सांसद छन्।
लुम्बिनी प्रदेशमा तेस्रो ठूलो दलको रूपमा रहेको नेकपा माओवादी केन्द्र यस पटक प्रतिपक्षीको भूमिकामा रहने छ। नेकपा माओवादी केन्द्रसँग ७ जना प्रत्यक्ष र ३ जना समानुपातिक गरी सभामुख बाहेक १० जना सांसद रहेका छन्।
राष्टिय प्रजातन्त्र पार्टीका ४ जना, राष्ट्रिय जनमोर्चाकाका १ तथा एकीकृत समाजवादी पार्टीका १ जना र स्वतन्त्र १ जना सांसद पनि लुम्बिनी प्रदेशमा प्रतिपक्षी सांसदको रूपमा रहने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।