काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूबीच सहमतिका लागि कुनै पनि समयको सीमा नहुने प्रष्ट पारेका छन्।
कांग्रेस र एमालेबीच मध्यरातमा सहमति भएको आरोपबारे जवाफ दिँदै उनले राजनीतिक दलको कुनै अफिस टाइम नहुने बताएका हुन्।
आज संसद वैठकमा जारी प्रधानमन्त्रीसँग सवालजवाफमा सांसद दुर्गा राईले मध्यरातमा सहमति गर्नुको कारण सोधेकी थिइन् ।
उनको प्रश्न थियो, ‘मध्यराति के आपत पर्यो र १२ घन्टा पर्खिन नसक्नेगरी सात बुँदे सम्झौता गर्नुको कारण के हो ? के यसमा आम नेपालीले थाहा पाउँदा विद्रोह गर्ने विषय छन् र?’
प्रधानमन्त्रीले यसमा लिखित जवाफ नदिइकन मौखिकरूपमै बोले।
यस्तो थियो ओलीको जवाफ-
मैले नबुझ्या हामी यो गरिमामय सदनमा के कस्ता कुरामा अल्झिदैछौं ? पार्टीभित्र भएका सहमति ‘एएम’ मा कि ‘पीएम’ मा हुनुपर्छ ? कति बजेर कति बजेमा हुनुपर्छ ? यस्तो कहीँ कतै छ र ? यस्तो हुन्छ ? एएमभित्र सक्नुपर्छ ? यति बजेर यति मिनेट गएपछि अफिस अफ हुन्छ र ? राजनीतिक दलको अफिस अफ हुँदैन । राजनीतिक गतिविधिको समय अफ हुँदैन । घडी अफ हुँदैन । समय गतिशील छ । थकाइ लागेकाहरू दिउँसो पनि सुत्छन्, थकाइ नलागेकाहरू बस्छन् काम पनि गर्छन् । यस्तो सानोतिनो कुरामा टाउको दुखाएर समय खेर नफालौं ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।