काठमाडौँ- प्रतिनिधि सभा बैठक आज दिउँसो १ बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओली प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिन लागेका हुन्।
उक्त परिच्छेदमा प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ।
आजकै बैठकमा कानुन मन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
गत असार ३० गते चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीको सांसदसँग यो पहिलो प्रश्नोत्तर हो। प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभाबाट दुईतिहाइ समर्थनसहित विश्वासको मत प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।