बागमती- बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका बहादुरसिंह लामाले सोमबार दाबी पेस गर्दैछन्। कांग्रेस संसदीय दलका नेता लामाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गर्न लागेका हुन्।
प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै नेकपा एमालेको समर्थनमा कांग्रेसका लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।
प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न साउन ८ गते साँझ ५ बजेसम्मको समय तोकेका छन्।
माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। उनको राजीनामा हिजै स्वीकृत भइसकेको छ।
प्रदेश प्रमुख शर्माले जम्कट्टेललाई अर्काे सरकार गठन नभएसम्मका लागि संविधानको धारा १६९ को उपधारा (३) बमोजिम काम चलाउ सरकारको रुपमा कार्य सञ्चालन गर्न अनुमति दिएका छन् ।
कांग्रेस संसदीय दलका नेता लामाले आफू मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारीमा रहेको बताए। ‘दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ,’ उनले भने, ‘नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भइसकेकाले बहुमत प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गर्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।