काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन अहिलेको अपरिहार्य रहेको बताएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै यादवले वर्तमान संविधान अपुरो रहेको बताएका छन्।
उनले अहिलेको संविधान जनता मारेर जारी गरिएको टिप्पणी गरे। संविधान जारी हुँदा मेचीदेखि महाकालीसम्म कालोदिवस मनाइरहँदा जनतामाथि गोली वर्साएर संविधान जारी गरिएको आरोप लगाए।
उनले भने, ‘संविधान संशोधनको सवाल अति महत्त्वपूर्ण हो। संविधान घोषणा भएको समयमा मेचीदेखि महाकालीसम्म जनताले कालो दिवस मनाएका थिए। सबैतिर आन्दोलन भएको थियो। तर सरकारले जनता मारेर संविधान घोषणा गर्यो। ३०० भन्दा बढी संशोधन पेस गरिएका थिए। त्यसमाथि छलफल नै नगरी बाहिरबाट लेख्न लगाएर जारी गरियो। त्यसैले संविधान संशोधन आवश्यक छ।’
उनले वर्तमान अवस्थामा मुलुकको आवश्यकता र समयको मागले प्रमुख दुई दलको समोदारी र सम्झौताबाट सरकार गठन भएको दाबी गरे। साथै उनले दुई ठूला दल मिलेर सरकार गठन गर्ने यो अन्तिम अवसरसमेत भएको बताएका छन्।
यदि यी दुई दल मिलेर बनाएको सरकार पनि स्थिर हुन सकेन भने त्यसपछिको विकल्प भयानक हुने र देश गम्भिर राजनीतिक संकटतर्फ जाने टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।