काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अचानक सत्ता समीकरण परिवर्तन गर्नुको कुनै पनि औचित्य पुष्टि नहुने बताएका छन्। स्वर्ग र नर्क सँगै जाने भनेर एकजनालाई धोका दिइएको उनले टिप्पणी गरे।
आज संसदमा प्रधानमन्त्रीले मागेको विश्वासको मत माथिको छलफलमा बोल्दै नेपालले यस्तो टिप्पणी गरेका हुन्। नेता नेपालले स्वर्ग र नर्क सँगै जाने वाचा गरेर रातारात अर्को दलसँग सहमति गर्नुको औचित्य खुलाउन प्रधानमन्त्रीसँग माग गरेका छन्।
उनले भने, –‘हामीलाई अचम्म लागेको छ। एउटा गठबन्धन तुरुन्त तोडेर अर्को समिकरण निर्माण केका लागि जरुरी थियो ? त्यसमा पनि पाँच वर्ष स्वर्ग गए पनि सँगै, नर्क गए पनि सँगै भनेर बचन दिएको पनि सुन्नमा आएको छ। सुन्दै आनन्द लाग्ने कुरा। तर, आफू स्वर्गतिर लाग्यो… अर्कोलाई लात्ति हिर्काएर नर्कतिर…। अचानक गठवन्धन किन तोडियो ? किन फेरियो ? यो कतैबाट पनि उचित हो भनेर पुष्टि गर्न सकिन्न। स्वर्ग र नर्क सँगै जाने कसमको भुलभुलैया सिर्जना गरेर अघिल्लो रातिसम्म ओत लागेको गठवन्धन सरकार भोलिपल्ट मिर्मिरे अगाडि ढालेर पिटिएको डंकाको औचित्य छैन।
सम्बोधनको सुरुवातमै नेपालले प्रधानमन्त्री सदनमा नभएको भन्दै कटु वचन सुनुपर्ने हो कि भनेर भागेको टिप्पणी गरे। उनले ओलीलाई विगतका आफ्ना कार्यहरुप्रति समीक्षा गरेर मात्र अघि बढ्न अनुरोध गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।