काठमाडौं– नेकपा एमालेका सांसद गोकर्ण विष्टले अहिलेको नेपाली राजनीतिमा आफू सरकारमा हुँदा मात्र लोकतन्त्र जोगिने र आफू बाहिर हुँदा खतरामा हुने भन्ने मान्यता स्थापित हुँदै गएको बताएका छन्।
नयाँ सरकार बनेपछि प्रतिपक्ष बन्न पुगेका पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिँदै सांसद विष्टले यस्तो बताएका हुन्। यस्तो पाराको मान्यताले राजनीतिक नैतिकता नदेखिने उनको भनाइ थियो।
उनले प्रचण्डले सरकारबाट बाहिरिनेबित्तिकै लोकतन्त्र खतरामा परेको भनी गरेको प्रचारमा कुनै तर्क नरहेको दाबी गरे। उनले भने, ‘यो कस्तो मान्यता स्थापित हुँदै गयो, आफू सरकारमा हुँदा लोकतन्त्र जोगिने र आफू सत्ता बाहिर हुँदा लोकतन्त्र खतरामा पर्ने? के लोकतन्त्र कुनै दलले निर्धारण गर्ने हो?’
यस्तै उनले कांग्रेस–एमाले गठबन्धनले लुकेर संविधान संशोधन गर्न लागेको भनी गरेको प्रचारमा कुनै सत्यता नभएको दाबी गरे। ‘संविधान संशोधन लुकेर गरिने होइन। त्यो प्रावधान पनि छैन। बरु संविधान संशोधनका लागि विधेयक पेश गरेको ३० दिनभित्र जनतामाझ सार्वजनिक गर्नुपर्छ। यस्तो प्रावधानलाई नहेरेर एकोहोरो जुन प्रचार गरिएको छ त्यसमा सत्यता छैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।