काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले माओवादीलाई कांग्रेस र एमालेले घुस खान सिकाएको बताएका छन्।
शनिबार दिउँसो डाक्टर मुक्ति रिजालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबारे लेखेको पुस्तक ‘द भिजिनरी रिबेल’ को लोकार्पण समारोहमा भूसालले कांग्रेसले राजाबाट, एमालेले कांग्रेसबाट र माओवादीले कांग्रेस एमाले दुवैबाट घुस खान सिकेको बताएका हुन्।
‘राजाले परम्परा र अन्तबाट पनि सिके होलान्। कांग्रेसले राजाबाट सिक्यो भन्ने लाग्छ। एमाले भएर कांग्रेसबाट सिक्यौं। उनीहरूसँग संगत बढ्दै जाँदा हामीले सिक्यौं। माओवादीलाई हामी दुइवटै मिलेर घुस खान सिकाएका हौं भन्ने लाग्छ। हामी आफूजस्तै बनायौं,’ उनले भने।
शान्ति प्रक्रियापछि बाटो नदेखेपछि माओवादीले समाजको कुरा बिर्सिएको उनले दाबी गरे। त्यतिबेला जनवादी क्रान्ति सम्पन्न भएको घोषणा गर्दै समाजवादी क्रान्तिमा जाने र त्यसका योजना सार्वजनिक नगर्नु माओवादी र डा. भट्टराईको गल्ती रहेको भूसालले बताए।
उनले कांग्रेस र एमाले दुई दलको सरकारसँग मुलुकमा रोजगारी र कृषिमा क्रान्ति गर्नसक्ने क्षमता भएपनि त्यो नहुने बताए।
‘क्षमता भएपनि अहिलेको सरकारले के गर्ला भन्दा इतिहासमा आफैंले गरेका अपराधहरू लुकाउन यसलाई अप्ठ्यारो हुनेछ। त्यसका नेताहरूलाई अप्ठ्यारो हुनेछ,’ उनले भने।
अहिलेको संरचनाले नै राज्यदोहनबाहेक मूलभुत रूपमा अर्को नगर्ने भूसालको भनाइ छ। त्यसकारण डाक्टर भट्टराईसँग राज्यदोहन नगर्ने पार्टी बनाउनेगरी एउटै बाटोमा आउन पनि महासचिव भूसालले आग्रह गरे।
‘आउनुस् डा. भट्टराई बाटोमा निक्लौं र यस्तो पार्टी निर्माण गरौं त्यो वैकल्पिक नवैकल्पिक जे सुकै नाम राख्लान्। तर त्यसको पहिलो कुरा यसले राज्यदोहन गर्दैन। यस्तो पार्टी बनाऔं जसका नेता र कार्यकर्ताले राज्यदोहन गर्दैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।