काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आगामी महाधिवेशनमा डा शेखर कोइरालालाई सभापतिमा समर्थन गर्ने घोषणा गरेकी छिन्।
शुक्रबार डा शेखरको सम्पर्क कार्यालयमा पुगेर सुजाताले भनिन्, ‘अब कोइराला परिवार एक ढिक्का हुन्छ। डा शेखरले लिएको लिडरसिपलाई मेरो समर्थन छ। यही ठाउँमा शशांकलाई पनि ल्याउँछौं र ल्याउनुपर्छ।’
उनले शेखर र शशांकसँग आफ्नो कुनै विवाद नभएको दाबी गर्दै एकजुट भएर अघि बढ्ने बताइन्। सुजाताले भनिन्, ‘हामी एकजुट हुनै पर्छ। हाम्रो बुबा र हजुरबुबाहरूले देख्नुभएको सपनालाई पूरा गर्नैपर्छ। त्यसका लागि शेखर दाइले लिडरसिप लिनुभएको छ। हामीले मुलुकलाई निकास दिनुपर्छ।
१४औं महाधिवेशनमा कोइराला परिवारका तीन सदस्य डा शेखर, शशांक र सुजाता अलगअलग भएका थिए। लामो समय साझा उम्मेदवार दिने बताएका उनीहरू पछि तीनतिर भएका थिए ।
डा. शेखरले सभापतिमा उम्मेदवारी दिँदा सुजाता प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवारी बनिन् भने केन्द्रीय सदस्य मात्र लडेका शशांकले पनि समर्थन गरेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।