काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देश र व्यवस्थालाई अप्ठ्यारो पर्दा कांग्रेस–एमाले एक ठाउँमा उभिने गरेको बताएका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार लमजुङका एमालेका नेता/कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले २०४६ सालमा पञ्चायत फाल्न, २०६२–०६३ सालमा राजतन्त्र फाल्न र २०७२ मा गणतान्त्रिक संविधान बनाउन पनि कांग्रेस–एमाले एकै ठाउँमा उभिएको उल्लेख गरे।
अहिले मुलुक राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको हिसाबले कमजोर भएको कारण कांग्रेस–एमाले एक ठाउँमा उभिनु परेको उनको भनाइ थियो। ठूला राजनीतिक दल एकताबद्ध हुनुपर्ने स्थिति देशमा बनेको उनले बताए। ‘राष्ट्रिय आवश्यकताले गर्दा हामी यो गठबन्धनमा सामेल छौँ,’ उनले भने।
देशको अर्थतन्त्र धेरै जर्जर बन्दै गएको कारण विकास र समृद्धिका काम अहिले अवरुद्ध अवस्थामा रहेका गुरुङले बताए। विकास, सुशासन, स्थिरता, संविधान परिवर्तनका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
‘प्रतिपक्षमा बसेको माओवादी केन्द्रको पनि सहमतिका आधारमा सबै राष्ट्रिय समस्याको समाधान गर्नुपर्छ,’ मन्त्री गुरुङले भने।
सञ्चार मन्त्री गुरुङले अहिले बेजेट आइसकेकाले धेरै ठूलो अपेक्षा नगर्न आग्रह गरे। यस वर्ष ट्र्याकबाट बाहिर गएको अर्थतन्त्रलाई ठीक बाटोमा ल्याउनका लागि सरकारले काम गर्ने उनले बताए।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।