काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली इन्जिनियरहरुको न्यूनतम तलब सुनेर छक्क परेका छन्। ६२औं इन्जिनियर्स दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओलीले इन्जिनियरहरुको तलब स्केल सुनेर छक्क परेका हुन्।
कार्यक्रममा इन्जिनियरहरुले आफ्नो समस्या सुनाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरुले भने, ‘इन्जिनियरको न्यूनतम तलब ३७ हजार तोकिएको छ। त्यसलाई कानुनी रुप दिइपाऊँ।’
सम्बोधनका क्रममा ओलीले ३७ हजार पनि इन्जिनियरको कुनै तनखा हो र! भनेर प्रश्न गरे।
‘घरभाडा ३० हजारभन्दा तल पाउनुहुन्न। बजार, महिना चलाउन एउटा परिवारलाई कमसेकम ३० हजारभन्दा तल हुन्न होला।
इन्जिनियरहरुको यो माग आफूहरुका लागि व्यंग्य भएको ओलीले बताए। प्रधानमन्त्री ओलीले इन्जिनियरहरुको मागप्रति आफू सकारात्मक रहेको बताएका छन्।
कार्यक्रममा ओलीले नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको बताएका थिए। ओलीले देशको इतिहास प्रशंसायोग्य भएको उल्लेख गर्दै अहिलेको अवस्था भने त्यति राम्रो नभएको बताए। देशलाई बिग्रिएको अवस्थाबाट उज्यालोतर्फ लैजानु आजको आवश्यकता रहेको प्रधानमन्त्री ओलीले बताए।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा देखिएका विद्यमान समस्या समाधान गर्न लागिपरेको स्पष्ट पारे। ‘आज सन्तोष मान्ने र खुसी हुने अवस्था छैन, यस अवस्थालाई हामीले बदल्नै पर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।