जनकपुरधाम- नेपाली कांग्रेस अर्थमन्त्री सहित चार मन्त्रालय लिएर मधेस सरकारमा सहभागी हुने भएको छ। मधेस सरकारमा कांग्रेसका सांसद सुनिल यादव अर्थमन्त्री बन्ने पक्का भएको छ।
यसैगरी जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेषनारायण यादव ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री र कौशलकिशोर राय श्रम तथा यातायात मन्त्री बन्ने भएका छन्।
मुख्यमन्त्री सतिशकुमार सिंहले अर्थ मन्त्रालय आफ्नो पार्टीले राख्ने अडान राखेपछि कांग्रेसले सरकारमा सहभागी नहुने धम्की दिएको थियो। कांग्रेस मधेसका प्रमुख सचेतक कुमरकान्त झाले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका थिए।
कांग्रेस केन्द्रीय समितिबाटै चार जनालाई मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्री समक्ष पत्र आएको छ। जुन पत्रमा मन्त्रालय पनि तोकिएको छ। मुख्यमन्त्रीले आजै कांग्रेसका मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।