काठमाडौँ- खानेपानी मन्त्री प्रदीप यादव र नेपालका लागि एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसबीच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटवार्ताको क्रममा एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउडले नेपालमा एडीबीले खानेपानीको क्षेत्रमा गर्दै आएका कामकारबाहीको जानकारी दिए। सोही अवसरमा एडीबीको सहयोग र सहकार्यमा सञ्चालित विभिन्न खानेपानी सम्बन्धी कार्यक्रम र परियोजनाहरूको बारेमा छलफल भयो।
कन्ट्री डाइरेक्टर अर्नाउडले मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था र प्रगतिको विशेष जानकारी मन्त्री यादवलाई दिए। मेलम्ची खानेपानी विकास समिति र एडीबीले लामो समयदेखि सहकार्य गर्दै आएको जानकारी गराउँदै अर्नाउडले मेलम्चीमा २०२१ मा आएको बाढीले क्षति पुर्याएको हेडवर्क्सलाई पुनः निर्माणका लागि स्थान परिवर्तन गरी पानी वितरण सहज बनाउन सहयोग गर्ने बताए।
भेटवार्ताका क्रममा नेपालका खानेपानी परियोजनाहरूको दीर्घकालीन प्रभाव, सफल कार्यान्वयन, र भविष्यमा एडिबीको थप सहयोगको सम्भावनाबारे पनि विस्तृत छलफल भयो। मन्त्री यादवले नेपाल सरकार र एडीबीबीचको थप सहकार्यले खानेपानीको पहुँच सुदृढ बनाउने विश्वास व्यक्त गरे।
मन्त्री यादवले मन्त्रालयले एडीबीलाई आवश्यक सम्पूर्ण सहयोग गर्न तयार रहेको बताउँदै मन्त्रालय र एडीबीबाट भइरहेका कामकारबाहीको नियमित रिपोर्ट पेस गर्न आवश्यक रहेको बताए। मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा २०२१ मा आएको बाढीले बगाएको हेडवर्क्सलाई पुनः निर्माण गर्न जुनसुकै निकायमा जान तयार रहेको पनि उनले बताए।
मन्त्री यादवले याङ्ग्री र लार्केको पानी काठमाडौँमा ल्याउनका लागि सञ्चालन भएको परियोजनालाई आफ्नो कार्यकालमा सफल पार्ने प्रयास गर्ने बताउनुभयो। साथै, मेलम्ची खानेपानी आयोजनाको अर्थ मन्त्रालयमा रोकिएको फायललाई प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्रीसँग सल्लाह गरी अगाडि बढाउने बताए।
मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको पानी १२ महिना काठमाडौँमा ल्याउन युद्ध स्तरमा काम गर्न निर्देशन पनि दिए। एडीबीले नेपालमा खानेपानी लगायतका क्षेत्रमा गरेका कार्यहरूको प्रशंसा गर्दै मन्त्री यादवले धन्यवाद व्यक्त गरे।
कन्ट्री डाइरेक्टर अर्नाउड सहित एडीबीको प्रतिनिधि टोली आज मन्त्रालयमा शिष्टाचार भेटघाटका लागि आइपुगेको थियो। एडीबीले खानेपानी मन्त्रालय सहित अन्य विभिन्न मन्त्रालयसँग सहकार्यमा विगत २० वर्षदेखि नेपालमा विभिन्न विकासका क्षेत्रमा काम गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।