काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन्।
सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । एमाले अध्यक्ष ओली संविधानको धारा ७६ (२) अनुसार ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए।
संविधानको धारा ७६ (४) अनुसार नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर प्रधानमन्त्री ओलीले सपथ लिएकै दिन ६ गते विश्वासको मत लिन चाहेको मौखिक जानकारी संसद सचिवालयलाई गराएका थिए। बुधबार औपचारिक पत्र गएको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ। ओलीसँग दुई तिहाई बहुमत देखिएको छ।
कांग्रेस (८८), एमाले (७९), जसपा (७) र लोसपा (४) सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले समर्थन गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।