मुगु- हिमाली जिल्ला मुगुले २७ वर्षपछि सङ्घीय सरकारमा प्रतिनिधित्व पाएको छ। विसं २०४८ मा नेपाली कांग्रेसको नेतृत्वमा गठित मन्त्रिपरिषद्मा यहाँबाट तत्कालीन प्रनिनिधि सभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायक मन्त्री भएका थिए।
विसं २०५२ पछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा समेत मल्ल शिक्षा राज्यमन्त्री भएका थए। उनी विसं २०५३ सम्म मन्त्री रहे। तर त्यस यता धेरै सरकार बने पनि मुगु जिल्लाबाट प्रतिनिधित्व हुन सकेको थिएन।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सत्ता गठबन्धनको नवगठित सरकारमा २३ वर्षपछि मुगुबाट प्रतिनिधि सभा सदस्य ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन्। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने एकल व्यक्ति हुन्।
मन्त्री शाहीको राजनीतिक पृष्ठभूमि
नेपाली कांग्रेस मुगु जिल्ला पार्टी सभापति समेत रहेका मन्त्री शाही गत निर्वाचनमा मुगुबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। विसं २०४४/०४५ देखि नेपाल विद्यार्थी सङ्घबाट सक्रिय राजनीतिमा लागेका शाही २०४८/०५१ र २०५२/०५३ मा तत्कालीन शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको स्वकीय सचिव समेत भएका थिए।
कांग्रेस जिल्ला सदस्य हुँदै उनी विसं २०६८ मा पार्टीको जिल्ला सभापतिमा निर्वाचित भए। मन्त्री शाही विसं २०७८ मा दोस्रो पटक कांग्रेस जिल्ला सभापति निर्वाचित भए।
विसं २०७० मा संविधान सभा सदस्य उम्मेदवार बनेका उनी झिनो मतान्तरले एमालेका मोहन बानियाँसँग पराजित भएका थिए। विसं २०७९ को आमनिर्वाचनमा भने प्रतिस्पर्धी एमालेका उम्मेदवार राजबहादुर कार्कीलाई पराजित गर्दै शाही चार हजारभन्दा बढीको मतान्तरसहित विजयी भए। शाहीले १४ हजार सात सय ६ मत प्राप्त गर्दा कार्कीले १० हजार सात सय १० मत प्राप्त गरेका थिए।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।