काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछन्। राष्ट्रपति कार्यालयले आज बिहान ११ बजे प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम रहेको जनाएको छ।
नेकपा एमालेका अध्यक्ष ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त भएका हुन्।
प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि २८ गते अपराह्न ५ बजे भित्र दाबी पेस गर्न आह्वान गरेका थिए।
राष्ट्रपतिले दाबी पेस गर्न आह्वान गरे लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले दलका नेताका हैसियतमा संसद्को बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि शुक्रबार नै दाबी पेस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।