काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन्। नेपाली कांग्रेसका नेता शेरबहादुर सहित शुक्रबार राति राष्ट्रपति भवन पुगेका ओलीले संविधानको धारा ७६ (२) अनुसार नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्।
ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।
जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस-एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।