काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको प्रस्तावमा आफू प्रधानमन्त्री हुँदा नेपाली काँग्रेसका सभापतिको मनोविज्ञान अनुभुत गरेको बताए। उनले शुक्रबार संघीय संसदमा विश्वासको मत माग्नेक्रममा यस्तो बताएका हुन्।
‘यो स्वर्ग र नर्क जाने कुरा १६ गतेको हो। ए सरी १७ गते विहान स्वर्ग र नर्क सँगै जाने। बामपन्थीहरु मिलेर ८४ को चुनाब लड्ने पार्टी पनि एउटै बनाउने। ढुक्क हुनुस् भन्दा मत मख्खै परेँ। बाहिर पत्रपत्रिकामा छरपस्ट आएको त थियो। तर मूल नेतृत्वले नै स्वर्ग गएपनि सँगै नर्क गए पनि सँगै भनेपछि त के नपत्याउँने। म फुर्किँदै क्याविनेटमा गएँ। क्याबिनेटमा गएपछि उपप्रधानमन्त्री मन्त्रीहरु सबैलाई संका थियो,’ उनले भने, ‘उहाँहरुले धोका हुनै लागेको छ है आजै हस्तारक्षेर गर्न तयारी भाछ त भन्नुभाथ्यो। हैट् तपाईहरु बुझ्नुहुन्न मैल एमाले अध्यक्षसँग ४ घण्टा कुरा गरेर आएको छु कस्तो राम्रो कुरा गर्नु भएको छ। ढुक्कसँग काम गर्नुस् केहि हुँदैन भने मैले, कति लाटो म।’
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले सँगै नेतृत्व गर्ने गरी आस्वासन दिइएर आफूलाई झुक्याएको प्रति टिप्पणी गरे।
‘मलाई अहिले कस्तो लाग्छ भने मैले नेपाली काँग्रेसको गटबन्धन छाडेर नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसका अध्यक्षको मनोविज्ञान मैले जे अनुभुत गरेँ। आज मेरो उहाँको जस्तै स्थिती छ। झुक्याइएँ मैले यसको नैतिक जिम्मेवारी लिन तयार छु,’उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।