काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा मुकुल ढकालले माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको शैली मनपर्ने रवि लामिछानेहरूलाई आफ्नो शैली बालापन लाग्नु स्वाभाविक भएको बताएका छन्।
रास्वपाले पदीय जिम्मेवारीबाट मुक्त गरेपछि बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले आफूमाथि बन्द कोठामा बालापनको आरोप लगाएर सार्वजनिक छविमाथि प्रहार गरिएको बताए।
‘प्रचण्ड, ओली र देउवाको शैली मनपर्ने मान्छेलाई मुकुल ढकालको शैली बालापन लाग्न सक्छ। लागोस् मलाई मतलब छैन’, ढकालले भने, ‘मेरो शैलीको बारेमा धेरै प्रश्नहरू उठ्यो। बच्चै छ, बालापन भयो। कार्यशैली मिलेन यावत कुराहरू उठे।’
उनले यस्तो कुरा उठेपछि आफूले लाइभ गरौँ भनेको सुनाए। ‘मैले त भनिरहेको छु लाइभ गरौँ। कसको शैली कस्तो छ थाहा भइहाल्छ। बन्द कोठामा मुकुल बच्चा देखियो भन्ने आरोप किन लगाउनुपर्यो रु लाइभ गरेपछि को कति पानीमा छ देखिन्छ भनेपछि उहाँहरूले मेरो सार्वजनिक छविमाथि प्रहार हुने प्रकारले आरोप लगाउनुभयो’, ढकालको गुनासो छ। ढकालले त्यही भएर रवि लामिछाने अझै पनि उपधारा ३ को सरकार बन्ला र सरकारमा जान पाइएला भनेर बसिरहेको आरोप लगाए।
‘अझैसम्म देउवाको नेतृत्वमा ३ अनुसार सरकार बन्ला र टुसुक्क जान पाइएला भनेर बस्नुभएको छ’, ढकालले भने। उनले पार्टी संगठनभित्र कसैको शैलीको आरोप भए त्यो दीपक बोहोराको शैलीमाथिमात्र आरोप लागेको बताए। साथै उनले पार्टी जोगाउन आफूलाई अधिकांश सदस्यहरूले जे हो सत्य बोल्न आग्रह गर्ने गरेको र आफू सोही अनुसार अघि बढेको बताए।
उनले १९ गतेको बैठकमा लाइभको पक्षमा ओर्लेलास् भनेर रवि लामिछाने उपस्थित भएको बताए। ‘त्यो भन्दा पहिला पनि साना बैठक गरेर मेरो विपक्षमा माहोल बनाइसक्नुभएको थियो’, उनले भने, ‘लाइभ नगर्ने हो भने कालोटेप लगाएर विरोध गर्छु भनेँ।’
ढकालले मिडियामा आफूले आफ्नो प्रतिवेदनको केही अंश दिएको भन्दै सरकारको विषयमा रवि लामिछानेले नबोल्न दबाब दिएको बताए। उनले पार्टी बिग्रियो र जोगाउनुपर्छ भन्दा ज्वाला संग्रौला र रमेश प्रसाईँहरूलाई परिचालन गरेर मुकुल ढकाल रवि लामिछानेको विपक्षमा गयो भन्ने माहोल सिर्जना गरिएको बताए।
यस्तै रवि लामिछानेले सहकारी मात्र नभएर पार्टीमा पनि ठगी गरेको आरोप लगाएका छन्। ढकालले सभापति रवि लामिछानेले पार्टीभित्र अपारदर्शी आर्थिक क्रियाकलाप जारी राखेको आरोप लगाए। लामिछानेले सहकारी मात्र नभएर पार्टीमा पनि ठगेको उनको आरोप छ। ‘रवि लामिछानेले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन्,’ ढकालले भने।
लामिछानेले ऋण तिर्नका लागि पार्टी कोषबाट पनि पैसा लगेको आरोप लगाए । केन्द्रीय समितिको निर्णयबिना कुनै ऋण वा लगानी गर्न नपाउने उनले बताए।पार्टीका जिम्मेवार पदाधिकारीलाई कुनै भुक्तानी नदिन भन्दै पारदर्शी रूपमा हरहिसाब राखेर मात्र खर्च गर्ने व्यवस्था गर्न उनले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।