काठमाडौं– साधारण सदस्यसमेत नरहनेगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित भएपछि महामन्त्री मुकुल ढकालले आफू सभापति रवि लामिछानेको क्लबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन्।
मंगलबार बिहान बसेको रास्वपाको केन्द्रीय कमिटी बैठकले महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी निष्कासित गरेको थियो।
त्यसपछि उनले सामाजिक सञ्जाल फेसबूकमा प्रतिक्रिया दिँदै रास्वपाभित्र घन्टी बज्न नरोकिने टिप्पणी गरेका हुन्।
उनले भनेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन। बाँकी कुरा भोलि ....’
रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो। थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।