काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्तीले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्यले मुलुकलाई दुई पार्टी पद्धतिमा लैजान खोजेको त होइन भन्ने प्रश्न गरेका छन्।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले दुई पार्टी पद्धतिमा लैजान खोजेको भए त्यो पश्चगामी हुने बताए।
‘यो बयलगाडामा बोकेर ल्याएको संविधान त होइन, हजारौं जनताको त्याग बलिदानबाट प्राप्त संविधान हो। यसले मल्टीपाटी सिस्टम (बहुदलीय व्यवस्था) लाई प्रत्याभूत गरेको छ। हाम्रो समाजमा विविध जाति वर्ग समुदाय छन्, तिनको प्रतिनिधि थलो भनेको मल्टीपार्टी सिस्टम हो’, उनले भने, ‘समाजमा दुई पार्टी सिस्टमको बहस चल्ने गरेको छ। त्यतातिर लान खोजियो भने पश्चगामी हुन्छ।’
नेपालको संविधानको मुख्य मर्म धर्मनिरपेक्षता र समानुपातिक प्रतिनिधित्व हो भन्दै उनले संविधान संशोधनको नाममा त्यसलाई अटाउन खोजिए पश्चगमन हुने बताए। कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक नभएको र त्यसबारे संशय रहेको उनको भनाइ छ।
विगतमा एमाले र माओवादीबीच गठबन्धन र पार्टी एकता हुँदा नभएको राजनीतिक स्थायीत्वको अहिले परिकल्पना गर्न नसकिने सांसद घर्तीले बताए।
‘हामीले विगतमा पार्टी एकता गरेर त राजनीतिक स्थायीत्व भएन, त्यहीँबाट झन् संसद विघटनको प्रक्रिया सुरु भयो’ उनले भने।
संसदीय प्रणालीमा सरकार बन्ने र ढल्ने स्वभाविक प्रक्रिया हो भन्दै उनले अहिले संविधानमा नभई राजनीतिक व्यवहारमा सुधार आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।