काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताएका छन्।
शुक्रबार महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने बताएका हुन्।
सबै राजनीतिक दलहरूले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्ने भन्दै नेपालले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए।
उनले भने, ‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौं। यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ। हाम्रो पार्टीहरूको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ।’
अध्यक्ष नेपालले राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेरमात्रै अघि बढ्न आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।