काठमाडौँ- कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेशन चलिरहेको थियो। देशभरबाट आएका नेता तथा कार्यकर्ताले प्रज्ञा प्रतिष्ठान परिसर भरिएको थियो।
प्रतिष्ठानको मुख्यहलमा सो पार्टीको नयाँ पदाधिकारीका चयनका लागि रस्साकस्सी चलिरहेका बेलामा बाहिर भने सुदूरपश्चिम प्रदेशको लोकभाका देउडा घन्किरहेको थियो। देउडाको भाकामा प्रतिनिधिहरु गोलबद्ध भएर नाच्न थालेपछि रमाइलो मान्दै हेर्नेहरु पनि झुम्मिएका थिए।
पार्टी पदाधिकारीदेखि महाधिवेशन प्रतिनिधिले एकैछिन भए पनि देउडामा रमाइलो गाए र नाचे। सुदूरपश्चिम र कर्णाली प्रदेशका कलाकारले देउडा खेलेपछि प्रज्ञाप्रतिष्ठानको प्राङ्गण रमणीय बन्यो। देउडाको गीतमा सबै झुम्न थालेपछि प्रतिष्ठानमा महोत्सव चलेजस्तै देखिएको थियो। गीतारु (गीत हाल्ने अर्थात् देउडिया)रुले सवाल–जवाफमा देउडा सुरु गरेपछि निकै रमाइलो भएको एक नेताले बताए।
जुम्लाका जनकबहादुर अधिकारी, बाजुराका शीतलकामी विक र अछामका जित निशानीले नेतृत्व गर्दै राजनीतिक र समसामयिक विषयमा देउडामार्फत चर्चा गरे। देउडामा महिला तथा पुरुषको उल्लेखनीय सहभागिता थियो। पछिल्लो दुई दिन झरीपछि आज मौसम सफा भएको फाइदा उठाउँदै सुरु भएको देउडाले महाधिवेशनमा नयाँ रङ दिएको भान हुन्थ्यो।
महाधिवेशनले आज पार्टी अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई सर्वसम्मत चयन गरे पनि बाँकी पदमा भोलि टुङ्गो लाग्नेछ।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।