काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटक-पटक मन्त्री भएका व्यक्तिलाई यस पटक विश्राम दिनुपर्ने बताएका छन्।
सुनसरीमा बिहीबार आयोजित एक कार्यक्रममा थापाले सरकारमा गएको व्यक्ति परिणाम दिनसक्ने हुनुपर्ने उल्लेख गरे। उनले भने, ‘पटक–पटक मन्त्री भएको व्यक्तिलाई यो पटक विश्राम दिने हो। घरमा राख्ने हो।’
भावी सरकारमा कांग्रेसबाट गएका मन्त्रीहरू समावेशीका आधारमा हुनुपर्ने थापाले बताए। उनले भने, ‘अब बन्ने सरकारमा कांग्रेसले पठाएका मन्त्रीहरू समावेशीताका लागि उदाहरणीय हुनुपर्छ।’
समावेशीको उदाहरण दिनुपर्दा २०१५ साल दिनुपर्ने विवशता पार्टीमा रहेको उनले सुनाए। ‘उदाहरण दिनु पर्यो भने २०१५ सालको दिनुपर्छ। अहिले सरकार बनाउँदै गर्दा २०८१ सालकै उदाहरण दिन पाइयोस् न,’ महामन्त्री थापाले भने,‘दलित, मधेसी, महिला, थारु, अल्पसंख्यक, मुसलमान सबै छन् भनेर।’
यसअघि कांग्रेस सरकारको बेलामा ९ जनामा दलित समुदायबाट एक जना पनि नभएको बताए। ‘न दलित पठायौं, न थारू पठायौं। न मधेसी पठायौं,’ थापाले भने, ‘कहिले पठायौंभन्दा २०१५ सालमा पठाएको हो नि त, बिर्सौं? भन्नुपरेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।