काठमाडौँ- सर्वोच्च अदालतले फौजदारी अभियोग लागेकै कारण कर्मचारीको पेन्सन रोक्न नमिल्ने फैसला गरेको छ।
भक्तपुरका हिमालयभक्त प्रधानांगले दायर गरेको रिटमा फैसला गर्दै सर्वोच्चले बैंकिङ कसुरको मुद्दा दायर भएकै कारण पेन्सन रोक्न नमिल्ने बताएको छ।
प्रधानांगले बैंकिङ कसुर मुद्दा दायर गरेकै आधारमा आफ्नो पेन्सन रोकिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश महेश शर्मा पौडेलको इजलासले कुनै अभियोग लागेका कारण व्यक्तिको पेन्सन रोक्का राख्न नहुने व्याख्या गरेको हो।
जीवनभर काम गरे बापत कर्मचारीले पेन्सन पाउने भन्दै सर्वोच्चले त्यसलाई प्रत्येक व्यक्ति सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकका रूपमा हेरिनुपर्ने व्याख्या गरेको छ। निवृत्तिभरण कोष ऐनले नै अवकाश पाउने कर्मचारीको पेन्सनलाई अनतिक्रम्य र हरण गर्न नमिल्ने व्यवस्था गरेको भन्दै सर्वोच्चले त्यसलाई अधिकारको रूपमा नै व्याख्या गर्नुपर्ने औँल्याएको हो।
पेन्सन रोक्दा अवकाशप्राप्त कर्मचारीको जीवनयापन, उपचार खर्च लगायतका आधारभूत काम प्रभावित हुने भन्दै भुक्तानी गर्न आदेश दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।