काठमाडौं – विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको हङकङ विरुद्धको छैटौं चरणको खेलअघि बिरामी परेका टिमका महत्त्वपूर्ण ब्याट्सम्यान शरद भेषावकरको ठाउँमा नरेश बुढाऐर खेल्ने भएका छन्।
शरदको ठाउँमा नरेशले खेल्ने नेपाली टिमका टेक्निकल एनालिस्ट रमन शिवाकोटीले जनाएका छन् । नरेश शुक्रबार बिहान हङकङ पुग्नेछन् । हङकङसँग नेपालको पहिलो खेल शुक्रबार नै भएकाले उनले सो खेल खेल्ने सम्भावना न्यून छ।
नेपालले हङकङको टिन कङ रिक्रिएन मैदानमा शुक्रबार र आइतबार हङकङसँग प्रतिस्पर्धा गर्दै छ।
नेपाली टिमका प्रशिक्षक जगत टमाटाले फर्ममा रहेका शरद नहुँदा टिमलाई घाटा पर्ने बताए । 'शरदले खेल्न नसके तीन नम्बरमा पारसले ब्याटिङ गर्नेछन्', टमाटाले भने।
डब्लुसिएलको पाँचौं चरणको समाप्तिमा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ । नेपाललाई शीर्ष चारमा रहेर एकदिवसीय विश्वकपमा छनोट हुन हङकङसँगका दुवै खेल जित्नैपर्ने दबाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।