काठमाडौं – विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरणको खेल खेल्न हङकङ पुगेको नेपालले अन्तिम प्रशिक्षण गरेको छ।
नेपालले हङकङको टिन कङ रिक्रिएन मैदानमा बिहीबार अन्तिम तयारी गरेको हो । नेपालले यही मैदानमा शुक्रबार र आइतबार हङकङसँग प्रतिस्पर्धा गर्दै छ । शुक्रबारको खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेदेखि हुनेछ।
मैदान सानो भएको तथा पहिलोपटक खेल्न लागेकाले नेपालले पिच अनुसारको योजना बनाएर खेल्नुपर्ने नेपालका प्रशिक्षक र कप्तानले बताएका छन् । कङ मैदानमा अन्तिम तयरी गरेपछि प्रशिक्षक जगत टमाटाले पत्रकारसँग कुरा गर्दै पिच अनुसारको रणनीति बनाउने प्रतिक्रिया दिए।
'विकेट अनुसार खेल्नुपर्छ । पिच हेरेपछि कुन बल कसरी खेल्ने, खेलाडीले बुझेका छन्', टमाटाले भने, 'बलरले लेन्थ र लाइनमा फोकस गरेर बलिङ गर्न सके रन बनाउन गाह्रो हुन्छ । सकेसम्म रन रोक्ने हाम्रो योजना हुन्छ।'
नेपाली टिमका कप्तान पारस खड्काले पनि सोचे जस्तो पिच नभएको बताए।
'पिचलाई नराम्रो भन्न त मिल्दैन । तर, हामीले सोचेको भन्दा बढी घाँस छ', पारसले भने, 'पिच जस्तोसुकै भए पनि विकल्प छैन । हामीले यही पिचमा आफ्नो क्षमता देखाउनुपर्छ।'
टिमका महत्त्वपूर्ण ब्याट्सम्यान शरद भेषावकर बिरामी भएकाले उनले नखेल्ने भएका छन् । शरदको स्थानमा अब नरेश बुढाऐर हङकङ जानेछन्।
टमाटाले फर्ममा रहेका शरद नहुँदा टिमलाई घाटा पर्ने बताए ।
'शरदले खेल्न नसके तीन नम्बरमा पारसले ब्याटिङ गर्नेछन्', टमाटाले भने।
डब्लुसिएलको पाँचौं चरणको समाप्तिमा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ । नेपाललाई शीर्ष चारमा रहेर एकदिवसीय विश्वकपमा छनोट हुन हङकङसँगका दुवै खेल जित्नैपर्ने दबाव छ।
नेपाली टोली-
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
वसन्त रेग्मी
सोमपाल कामी
सागर पुन
विनोद भण्डारी
करण केसी
सुशील कँडेल
ललित भण्डारी
सुसन भारी
मोहमद आरिफ शेख
दीपेन्द्रसिंह ऐरी
सन्दीप लामिछाने
वैकल्पिक खेलाडी:
जितेन्द्र मुखिया
नरेश बुढाऐर
मेहबुब अलाम
कुशल भुर्तेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।