काठमाडौं- प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको छ। नेपाली कांग्रेसले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गरेको घोषणा गरे।
बैठक स्थगित भएको घोषणा गर्दै सभामुख घिमिरेले प्रतिनिध सभाको आगामी बैठक २०८१ जेठ १ गते अपराह्न ६ बजे बस्ने जानकारी दिए।
आजको बैठक कार्यसूचीमा प्रवेश गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी दल कांग्रेसले नाराबाजी सुरु गरेको थियो। बैठक चल्न नसकेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
त्यसपछि सुरु भएको दोस्रो बैठक पनि कांग्रेसले चल्न दिएन। सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिनेवित्तिकै कांग्रेस सांसदहरु बेल घेराउ गर्न पुगेका थिए।
संसदीय छानबिन समिति गठन नगरेसम्म बैठक चल्न नदिने अडानमा रहेको कांग्रेसले लामिछानेलाई सदनमा बोल्न दिएनन्। नाराबाजीकै बीच सभामुखले आजको बैठक स्थगित भएको घोषणा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।