_x000D_
काठमाडौं । ट्यांकर चालकको अवरोधका कारण पेट्रोलियम पदार्थको अभाव सुरु हुन थालेको छ। देशभर विभिन्न रुटमा सञ्चालित १ हजार ९ सय ट्यांकर चालकमध्ये अधिकांशले अहिले पेट्रोलियम ढुवानी रोकेका छन्। ढुवानी प्रभावित हुँदा राजधानीका पेट्रोल पम्पमा लाइन सुरु भएको छ।
_x000D_
_x000D_
नेपाल आयल निगमका अनुसार मंगलबारदेखि ती चालकहरूले पेट्रोलियम ढुवानी गरेका छैनन्। भण्डारण क्षमता कमजोर रहेका कारण आपूर्तिमा अवरोध हुँदा पेट्रोलियम पदार्थको अभाव सुरु भएको हो।
_x000D_
_x000D_
‘हामीसँग चालक र ढुवानीकर्ताको कुनै माग छैन,’ नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘तर, पेट्रोलियम ढुवानी रोकिएको छ।’
_x000D_
_x000D_
बुधबार निगमले प्रेस विज्ञप्ति जारी गर्दै चालकहरूको अवरोधप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ। ‘ट्यांकर चालकहरूबाट आपूर्ति असहज पार्ने प्रयास गर्नु निकै दुःखद् पक्ष हो ।’ निगमद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
_x000D_
_x000D_
वैज्ञानिक ढुवानी भाडामा समायोजन गरिसके पनि पुनः विभिन्न बहानामा पेट्रोलियम पदार्थको आपूर्तिमा असहज पार्न खोज्नु दण्डनीय भएको निगमले जनाएको छ।
_x000D_
_x000D_
पेट्रोलियम ढुवानीका लागि सरकार सुरक्षा दिन तयार रहेको निगमका कार्यकारी निर्देशक भट्टराईले बताए। ‘चालकहरूको तलबभत्ता, संचयकोष, ट्रिप भत्ता लगायतका मागहरू निगमले पूरा गर्ने सहमति भइसकेको छ,’ उनले भने, ‘तर पनि किन आपूर्ति असहज भइरहेको छ बुझ्न सकेका छैनौं।’
_x000D_
_x000D_
अहिले अधिकांश ट्यांकर चालक निगमकै सम्पर्कमा छैनन्। आपूर्तिमा अवरोध गर्ने प्रयास जारी रहे कारबाही गर्ने चेतावनी निगमले दिएको छ। ‘पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पर्नेगरी पिडिओ नलिने, भारतीय आयल निगममा लोड लिन नजाने, डिपोमा लोड लिएर नआउने, बिक्री वितरणमा असहयोग गर्ने लगायतका कार्य गरेको पाइएमा सम्बद्ध सबै पक्षलाई निगम विनियमावली बमोजिम दायित्व पूरा नगरेको मानी ढुवानी सम्झौता रद्ध गरी खारेज गर्नेसम्मकोको कडा कारबाही गरिनेछ,’ निगमले चेतावनी दिएको छ।
_x000D_
_x000D_
ढुवानी नगर्ने हो भने ट्यांकरको साँचो बुझाउन निगमले चालकलाई चेतावनी दिएको छ। ‘अत्यावश्यक सेवा ठप्प पार्नेलाई अब निगमले कारबाही गर्छ,’ निगमका कार्यकारी निर्देशक भट्टराईले भने।
_x000D_
_x000D_
केही समयअघि निगमले ट्यांकरमा लकिङ प्रणाली सुरु गरेदेखि नै चालकहरूले असन्तुष्टि जनाउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।